विश्वप्रकाश शर्मा उम्मेदवार नबन्ने भएपछि झापा–१ मा कांग्रेसका पाँच नाम सिफारिस
झापा — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेसँगै झापा निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ उम्मेदवारका नाम सिफारिस गरिएको छ।
आज बसेको नेपाली कांग्रेस झापा क्षेत्र नं १ को क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए।
सिफारिस गरिएका नामहरूमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन्।
पार्टीका तत्कालीन महामन्त्री तथा हालका उपसभापति शर्मा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। तर यसपटक उनले उम्मेदवार नबन्ने घोषणा गरेपछि क्षेत्रीय समितिले नयाँ नाम सिफारिस गरेको हो।
गत महिना क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। शर्माको निर्णयपछि पुनः बैठक बसेर अन्य नामहरू सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताए।