निर्वाचन आयोगले शुक्रबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार स्वीकृत निर्वाचन कार्यक्रमअनुसार शुक्रबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। साथै उम्मेदवारविरुद्ध दर्ता भएका उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भइसकेको जानकारी उनले दिए।
घिमिरेका अनुसार उम्मेदवारविरुद्ध परेका उजुरीमध्ये चार वटा खारेज भएका छन्। यदि कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा शुक्रबार नै नाम फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो। सो क्रममा पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो। ती उजुरीमध्ये भक्तपुर–२ मा दुई वटा, सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक–एक वटा उजुरी दर्ता भएका थिए।
निर्वाचन आयोगका अनुसार तीमध्ये चार वटा उजुरी खारेज भएका छन् भने कैलाली–१ बाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी भने खारेज गरिएको छ।