न्युजिल्यान्डमा पहिरोमा पुरिएर २ जनाको मृत्यु
न्युजिल्यान्डको नर्थ आइल्याण्डमा भीषण वर्षापछि आएको पहिरोमा परेर कम्तीमा २ जनाको मृत्यु भएको छ । कयौँ मानिस अझै बेपत्ता छन् ।
वेलकम बे क्षेत्रमा दुई जनाको ज्यान गएको पुष्टि भएको छ भने माउन्ट माउङ्गानुइस्थित लोकप्रिय क्याम्प ग्राउन्डमा उद्धारकर्मीहरूले भग्नावशेषमा खोजी जारी राखेका छन् । उद्धार कार्य रातभर जारी रहने अधिकारीहरूले बताएका छन् ।
घटनास्थलमा जीवनका कुनै सङ्केत नभएको अधिकारीहरूले बताएका छन् । बेपत्ता हुनेहरूको सङ्ख्या कति भन्ने विषयमा प्रारम्भिक अनुमान भए पनि यकिन विवरण आउन बाँकी छ । बेपत्ताको समूहमा एक बालिका पनि रहेको जनाइएको छ ।
पछिल्ला केही दिनको निरन्तर वर्षाले पहिरो निम्त्याएको बताइएको छ । वर्षाका कारण नर्थ आइल्याण्डका विभिन्न स्थानमा बाढी र विद्युत् अवरुद्धको अवस्था छ । पूर्वी तटीय क्षेत्र युद्ध क्षेत्रजस्तै देखिएको एक मन्त्रीले टिप्पणी गरेका छन् ।
देश गहिरो शोकमा डुबेको प्रधानमन्त्री क्रिस्टोफर लक्जनले सामाजिक सञ्जालमा भनेका छन् । माउन्ट माउङ्गानुइ माओरीहरूको एक पवित्र स्थल हो । यो पर्यटकको लोकप्रिय गन्तव्य पनि हो । यसअघि पनि यो ठाउँ पटक–पटक पहिरोको चपेटामा पर्दै आएको छ ।