काठमाडौंमा ट्राफिक सप्ताह–२०८२ जारी, माइतीघर मण्डलामा दीप प्रज्ज्वलन
काठमाडौं, १ माघ । सवारी दुर्घटना न्यूनीकरणका उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको संयोजनमा सञ्चालन भइरहेको ट्राफिक सप्ताह–२०८२ जारी छ ।
पुस २५ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ । सोही कार्यक्रमअन्तर्गत बिहीबार साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक सप्ताहले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
ट्राफिक सप्ताहका अवसरमा रात्रिकालीन लामो तथा मध्यम दूरीका सवारी साधनमा एक मिनेटको दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिँदै आएको छ । साथै राइड सेयरिङ एप चालकहरूलाई लक्षित गरी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।
भाडाका तथा सार्वजनिक सवारी साधनमा जीपीएस र सीसी क्यामेरा जडान गर्न आवश्यक समन्वय गर्दै विभिन्न कार्यक्रममार्फत सवारी सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य ट्राफिक सप्ताहको रहेको ट्राफिक प्रहरीले जनाएको छ ।