सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले) की लीला कुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारी र अन्य समूहबाट कांग्रेसका खाती निर्वाचित भएका हुन्।
महिला समूहअन्तर्गत भण्डारीले ३ हजार ९८४ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत पाइन्।
अन्य समूहतर्फ कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेकपाका टीकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए। खाती पूर्वमहान्यायाधिवक्ता पनि हुन्।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ तोकिएको थियो।
सुदूरपश्चिम प्रदेशमा कूल २२४ मतदाता रहेकामा ४९ जना प्रदेश सभा सदस्य र १७१ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी थिए। तीमध्ये २२० जनाले मतदान गरेका थिए।