इजरायली सेनाको गोलीबारीमा तीन प्यालेस्टाइनीको मृत्यु
दक्षिणी गाजामा इजरायली सेनाको गोलीबारीमा परी एक १५ वर्षीय किशोरसहित तीन प्यालेस्टाइनीको मृत्यु भएको छ। प्यालेस्टाइनी चिकित्सा स्रोतहरूका अनुसार खान युनिसको दक्षिणमा पर्ने जोरात अल-लुत क्षेत्रमा भएको इजरायली आक्रमणमा परी १५ वर्षीय अला अल-दिन असराफको ज्यान गएको हो।
त्यसैगरी रफाहको उत्तर-पश्चिम क्षेत्रमा इजरायली सेनाको गोलीबारीमा फादी सलाहको मृत्यु भएको छ। स्थानीय स्रोत र प्रत्यक्षदर्शीका अनुसार इजरायली सेना फिर्ता भएको क्षेत्रमा इजरायली ड्रोनले प्रहार गर्दा सलाहको मृत्यु भएको हो। उनको शवलाई खान युनिसको नासेर अस्पतालमा लगिएको छ।
यसअघि रफाहको तटमा माछा मारिरहेका ३२ वर्षीय मछुवारा अब्दुल रहमान अल-कानको इजरायली नौसेनाले चलाएको गोली टाउकोमा लाग्दा मृत्यु भएको थियो। यसैबीच इजरायलले उत्तरी र पश्चिमी रफाहमा हवाई आक्रमण गर्नुका साथै पूर्वी खान युनिसमा आवासीय भवनहरू ध्वस्त पारेको छ।
इजरायल रक्षा बल (आईडीएफ) ले आफ्ना सैनिकहरू युद्धविराम सम्झौता अनुसारै तैनाथ रहेको र खतरा हटाउन सञ्चालन जारी राख्ने बताएको छ। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार १० अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता ४२० जनाको मृत्यु भइसकेको छ भने ७ अक्टोबर २०२३ देखि सुरु भएको यस युद्धमा हालसम्म कुल ७१ हजार ३ सय ८६ प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन्।