झारखण्डमा हात्तीको आक्रमणबाट २० जनाको मृत्यु
भारतको पूर्वी राज्य झारखण्डमा एक जङ्गली हात्तीको आक्रमणबाट २० जनाको मृत्यु भएको छ । ९ दिनको अवधिमा हात्तीको आक्रमणमा परेर २० जनाको मृत्यु भएको हो ।
जनवरी १ देखि जनवरी ९ को बिचमा राज्यको पश्चिम सिंहभूम जिल्लाको चाइबासा र कोल्हान वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परेर उनीहरूको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीहरुका अनुसार आक्रमण गर्ने जङ्गली हात्ती नियन्त्रणमा लिन सकिएको छैन ।
सयभन्दा धेरै वन अधिकारीहरूले साे हात्तीकाे खोजी गरिरहेको बताइएको छ । अधिकारीहरूका अनुसार सबैको मृत्यु एउटै भाले हात्तीसँग सम्बन्धित छ । अधिकांश मृत्यु पनि रातकै समयमा भएको बताइएको छ । हात्ती जवान, फुर्तिलो र बारम्बार ठाउँ फेरिरहने भएकोले नियन्त्रणमा लिन गाह्रो भएको अधिकारीहरुले बताएका छन् ।
मानव र हात्ती द्वन्द्व बढ्नुको कारण वन क्षेत्र घट्नु र हात्ती आवागमन मार्ग अवरुद्ध हुनु बताइएको छ। मर्नेमध्ये एक जना वनका कामदार समेत भएको बताइएको छ । मृतकका परिवारलाई अधिकारीहरूले आर्थिक क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।