नवलपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख १४ हजार मतदाता
नवलपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपुर जिल्लामा मतदाताको संख्या ३ लाख १४ हजार ३८५ पुगेको छ। तीमध्ये महिला मतदाताको संख्या १ लाख ६० हजार ३१६ रहेको छ भने पुरुष मतदाताको संख्या १ लाख ५४ हजार ६८ रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले जानकारी दिए। यसरी महिला मतदाता पुरुषभन्दा ६ हजार २४८ बढी छन्।
जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र तोकिएका छन्। निर्वाचन क्षेत्र नं २ मा सबैभन्दा बढी १ लाख ९ हजार ५७४ मतदाता छन् भने निर्वाचन क्षेत्र नं १ मा सबैभन्दा कम १ लाख १ हजार ७२४ मतदाता रहेको छ।
मतदाताको सङ्ख्या अनुसार मतदान केन्द्रको संख्या पनि बढाइएको छ। अघिल्लो निर्वाचनमा तीन सय ४६ मतदान केन्द्र रहेका थिए, यसपटक केन्द्रको संख्या बढाएर तीन सय ६० पुर्याइएको छ। कृष्णपुर नगरपालिकामा रहेका दुई मतदानस्थलको स्थान परिवर्तन गरिएको छ। मतदानस्थल भने साबिककै १३२ कायम गरिएको छ। निर्वाचन क्षेत्र नं ३ मा दुई अस्थायी मतदान केन्द्र राख्नेबारे छलफल भइरहेको छ।
तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। कार्यालयहरूले कर्मचारी खटाउने, सुरक्षाकर्मी व्यवस्था गर्ने र आवश्यक सामग्री व्यवस्थापन गर्ने कार्य पूरा गरेको सूचना अधिकारी महराले बताए।