त्रिवि शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा सेवा बन्द गर्यो
काठमाडौं, १ माघ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत प्रदान गर्दै आएको उपचार सेवा बन्द गरेको छ ।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी नआएपछि आजदेखि बिमामार्फत गरिने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार बोर्डले बिमा कार्यक्रमअन्तर्गत गराइएको उपचारको भुक्तानी समयमै उपलब्ध नगराउँदा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको हो ।
अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेबापत बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जनाएको छ । हालसम्म मासिक करिब दुई करोड रुपैयाँ बराबरको सेवा उपलब्ध गराउँदै आएको अस्पतालले आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य बिमा कार्यक्रम रोक्नुपरेको सूचना अधिकारी रोस्याराले बताए ।
‘बीमितको उपचार गरेबापतको रकम समयमै प्राप्त नहुँदा अस्पताल सञ्चालनमै समस्या परेको छ,’ उनले भने, ‘आन्तरिक स्रोतबाट सबै खर्च व्यहोर्दा मासिक दुई करोड रुपैयाँ घाटा सहनु परेकाले स्वास्थ्य बिमा सेवा बन्द गर्न बाध्य भयौँ ।’
अस्पतालले २०७७ सालदेखि नियमित रूपमा स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा प्रदान गर्दै आएको थियो । तर बिमा वापतको भुक्तानी गर्न दुई वर्षदेखि पटक–पटक आग्रह गर्दा पनि स्वास्थ्य बिमा बोर्डबाट कुनै सुनुवाइ नभएको अस्पतालको भनाइ छ ।