देउखुरीमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते
दाङ, १ माघ । दाङको देउखुरी क्षेत्रमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी र शिला परियार तथा मोटरसाइकलमा सवार लमही नगरपालिका–५ कोलहीका अशोक चौधरी र बस मालिक सुशील वली घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।