मिनियापोलिसमा आप्रवासन प्रहरीको गोलीकाण्डपछि अमेरिका फेरि आन्दोलनको आँधीमा
मिनियापोलिस। अमेरिकी समाज फेरि एकपटक गहिरो ध्रुवीकरण र हिंसात्मक प्रदर्शनको जोखिमतर्फ उन्मुख देखिएको छ। मिनेसोटा राज्यको मिनियापोलिस शहरमा आप्रवासन प्रहरीका अधिकारीको गोलीबाट केही दिनको अन्तरमा दुई जना अमेरिकी नागरिकको मृत्यु भएपछि देशभर व्यापक विरोध प्रदर्शन चर्किएको छ।
आपत्कालीन आप्रवासन कारबाहीका क्रममा आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईस) र कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी)का अधिकारीद्वारा गरिएका यी गोलीकाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा लागू गरिएको कडा आप्रवासन नीतिविरुद्ध जनआक्रोश बढाएको छ।
गत जनवरी ७ मा आईसका अधिकारी जोनाथन रसले ३७ वर्षीया रेनी निकोल गुडमाथि गोली प्रहार गरेका थिए। कारमा सवार गुडको केही समयमै मृत्यु भएको थियो। सुरक्षा अधिकारीहरूले नियमित आप्रवासन कारबाहीका क्रममा आत्मरक्षाका लागि गोली चलाइएको दाबी गरे पनि प्रत्यक्षदर्शी र सार्वजनिक भिडियोहरूले गुडले कुनै खतराजन्य गतिविधि नगरेको देखाएको भन्दै अधिकारकर्मीहरूले घटनालाई ‘निर्दयी हत्या’को संज्ञा दिएका छन्।
यस घटनाको केही दिनपछि, गत शनिबार, सीबीपीका अधिकारीले अर्का ३७ वर्षीय नर्स एलेक्स प्रेट्टीको गोली हानी हत्या गरे। अधिकारीहरूले यसलाई पनि आत्मरक्षाको कदम भनेका छन्। तर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा प्रेट्टीको हातमा मोबाइल फोन मात्र देखिएको छ। उनको परिवारले घटनाप्रति गहिरो शोक र आक्रोश व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।
यी घटनापछि मिनियापोलिसबाट सुरु भएको आन्दोलन शिकागो, वासिङ्टन डीसी, पोर्टल्यान्ड, सियाटल, न्यूयोर्क, लस एन्जल्स, एटलान्टा, फिलाडेल्फिया र बोस्टनसहितका शहरहरूमा फैलिएको छ। कठ्याङ्ग्रिँदो जाडोका बाबजुद हजारौँ मानिस सडकमा उत्रिएका छन्। कतिपय ठाउँमा प्रदर्शन शान्तिपूर्ण भए पनि केही शहरमा हिंसात्मक झडपसमेत भएका छन्।
मिनियापोलिस र सेन्ट पलजस्ता डेमोक्र्याट नेतृत्वका ‘स्याङ्चुअरी सिटी’मा ट्रम्प प्रशासनले आप्रवासन कारबाही कडा बनाएको छ। सोमाली मूलका आप्रवासीको उल्लेख्य जनसंख्या रहेको यी शहरमा गत डिसेम्बरमा ‘अपरेशन मेट्रो सर्ज’ घोषणा गरिएपछि आईस र सीबीपीको उपस्थिति झनै बढेको छ।
राजनीतिक रूपमा पनि विवाद चर्किएको छ। मिनेसोटाका गभर्नर टिम वाल्ज ट्रम्पविरुद्धको पछिल्लो राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार थिए। यस पृष्ठभूमिमा राज्यमा बढाइएको संघीय सुरक्षा कारबाहीलाई कतिपयले राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्।
उपराष्ट्रपति जेडी भान्सले आईसविरोधी प्रदर्शनलाई तीव्र शब्दमा आलोचना गर्दै राज्य तथा स्थानीय अधिकारीहरूले संघीय निकायसँग सहकार्य नगरेको आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पले पनि प्रदर्शनको दोष डेमोक्र्याट नेतृत्वमाथि थोपर्दै गभर्नर वाल्ज र मिनियापोलिसका मेयर जेकब फ्रेले आईस अधिकारीको सुरक्षा गर्न असफल भएको टिप्पणी गरेका छन्।
विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले अमेरिकामा आप्रवासन नीति, प्रहरी दमन र नागरिक अधिकारसम्बन्धी बहसलाई थप चर्काएको छ। यदि सरकार र सुरक्षा निकायले संवेदनशीलता नदेखाउने र प्रदर्शनकारीहरूले हिंसाको बाटो रोजेमा सन् २०२० को जर्ज फ्लोयड आन्दोलनभन्दा अझ उग्र अवस्था सिर्जना हुनसक्ने चेतावनी दिइएको छ।