जसपा नेपालद्वारा माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले माघ ५ गते देशभरका सबै संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले मधेश आन्दोलन, लोकतान्त्रिक संघर्ष तथा संघीयता र समावेशीताका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको स्मरणमा विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले माघ ३ गते मधेश भवनमा प्रदेश स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । सो अवसरमा संघीयता, प्रदेश अधिकार र मधेश आन्दोलनका उपलब्धिमाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गरिने पार्टीले जनाएको छ ।
यसैगरी बैठकले केन्द्रीय समन्वय समितिमा पाँच जना नयाँ सदस्य थप गर्ने निर्णय गरेको छ । नव–नियुक्त सदस्यहरूमा राजकिशोर यादव, शैलेन्द्र प्रसाद साह, हरि मण्डल, प्रदीप यादव र जयप्रकाश ठाकुर रहेका छन् । पार्टीका अनुसार उनीहरू लामो समयदेखि मधेश केन्द्रित आन्दोलन, संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका नेता हुन् ।
बैठकले आगामी राष्ट्रिय सभा निर्वाचन सम्पन्न गराउन तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा राष्ट्रिय सभा सदस्य खालिद सिद्दिकी, परमेश्वर साह र लालकिशोर साह रहेका छन् । समितिले निर्वाचन रणनीति, समन्वय तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ ।
केन्द्रीय समन्वय समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरी प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा खटाउने निर्णय पनि बैठकले गरेको छ । यसलाई पार्टी एकीकरणपछि संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने रणनीतिक कदमका रूपमा हेरिएको छ ।
बैठकमा पार्टी एकीकरणपछि देखिन सक्ने संगठनात्मक चुनौती, कार्यकर्ता व्यवस्थापन, सांगठनिक समायोजन र आगामी राजनीतिक कार्यदिशाबारे पनि छलफल भएको बताइएको छ । नेताहरूले एकीकरणलाई कागजी मात्र नभई व्यवहारिक र वैचारिक रूपमा सफल बनाउन जोड दिएका छन् ।
पार्टी नेतृत्वले जसपा नेपाललाई मधेश केन्द्रित मात्र नभई राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको एकीकरणपछि बसेको यो पहिलो औपचारिक केन्द्रीय समन्वय समिति बैठकलाई पार्टीको नयाँ राजनीतिक यात्राको प्रारम्भिक आधारका रूपमा हेरिएको छ ।