अमेरिकाको साल्ट लेक सिटीस्थित चर्चबाहिर गोली प्रहारमा दुई जनाको मृत्यु
अमेरिकाको साल्ट लेक सिटीस्थित चर्च बाहिर भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य छ जना घाइते भएका छन्, प्रहरीले जनाएको छ। शोक सभामा सहभागी हुन बुधबार राति मानिसहरू चर्चमा भेला भएको समयमा यो घटना घटेको हो।
यो गोलीकाण्ड उताहस्थित मर्मन चर्चको नामले चर्चित ल्याटर–डे सेन्ट्स चर्चको प्राथर्ना गृह पछाडि रहेको पार्किङ क्षेत्रमा भएको हो।
घटनामा कुनै संदिग्ध समातिएको छैन, अधिकारीहरूले बताएका छन्। सबै पीडित वयस्क थिए। घाइतेमध्ये कम्तीमा तीन जनाको अवस्था गम्भीर छ। प्रहरीको अनुमान अनुसार बन्दुकधारीले कुनै विशेष धर्मप्रति शत्रुता लिएर गोली चलाएको होइन; गोली जथाभावी चलाइएको मानिएको छ।
गोली चलेको आवाज सुनेपछि चर्च छेउका आवासीय परिसरका बासिन्दाहरू पीडितहरूको सहयोग गर्न र पहिचान नखुलेका व्यक्तिको अन्त्येष्टिमा उपस्थित भएका दर्जनौँ मानिसहरूलाई सान्त्वना दिन भेला भएका थिए।