कांग्रेस प्रवक्ता महतको आरोप: महामन्त्रीहरूले पार्टी निर्णय नमाने
२३ पुस, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको आधिकारिक निर्णय नमानेको आरोप लगाएका छन्।
पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै उनले त्यसलाई बेवास्ता गर्दै विशेष महाधिवेशनको नाममा आह्वान गर्नु गलत भएको बताएका छन्।
‘हामी पार्टीको आधिकारिक निर्णयको पक्षमा उभिने हो । महामन्त्रीहरू त झन जिम्मेवार पदमा हुनुहुन्छ,’ महतले अनलाइनखबरसँग भने, ‘वैशाख २८ गते महाधिवेशन गर्ने निर्णय भइसकेको छ । तर महामन्त्रीहरूले त्यो निर्णय मान्नुभएको छैन।’
आगामी आम निर्वाचनलाई ध्यानमा राख्दै अहिले पार्टी एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ। ‘आम निर्वाचनको मुखमा सबै एक भएर जानुपर्छ । विवाद गर्ने समय यो होइन,’ उनले भने, ‘नियमित महाधिवेशन पुसमै गर्न सकिन्छ भन्ने कुरा उहाँहरूले नै उठाउनु भएको थियो, हामीले त्यतिबेला पनि सम्भव हुँदैन भनेकै हौँ।’
महाधिवेशन गराउने जिम्मेवारी महामन्त्रीहरूको समेत भएको उल्लेख गर्दै महतले महाधिवेशन किन समयमा हुन नसकेको भन्ने कुरा सबैलाई थाहा रहेको बताए। ‘महाधिवेशनको प्रक्रिया अघि बढिसकेको छ, तालिका मात्रै संशोधन गरिएको हो,’ उनले भने, ‘कार्यतालिका अगाडि बढिसकेको अवस्थामा विशेष–विशेष भन्दै जानु उचित हुँदैन।’
महतले यो कदमले कांग्रेसलाई कमजोर बनाउने खतरा रहेको चेतावनी पनि दिए। ‘यो देशमा नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । अहिले गम्भीर समय छ,’ उनले भने, ‘यस प्रकारको गतिविधिले पार्टीलाई झन् कमजोर बनाउने मुभ भएको छ । किन यस्तो गरिँदैछ भन्ने बुझिनसक्नु छ।’
उनका अनुसार चुनावलगत्तै महाधिवेशन गर्ने योजना रहेको र अहिले सबै ध्यान चुनावको तयारीमा केन्द्रित गर्नुपर्ने समय हो। ‘अहिले टिकट वितरण र चुनावको तयारीको समय हो,’ उनले भने, ‘टिकट कसैले थोपर्ने कुरा हुँदैन । अहिले कसैलाई टिकट दिएको भरमा मत स्वतः आउने अवस्था पनि छैन।’
पार्टी नेताहरूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचनाप्रति पनि उनले असन्तुष्टि जनाए। ‘पार्टीकै नेतामाथि निरन्तर गालीगलौज भइरहेको छ,’ उनले भने, ‘आम निर्वाचनको मुखमा यसरी नेताहरूलाई खलनायकजस्तै चित्रण गर्नु कत्तिको उचित हुन्छ ?’