उज्यालो नेपाली पार्टीले १२० निर्वाचन क्षेत्रमा उम्मेदवारी दियो
७ माघ, काठमाडौं । उज्यालो नेपाली पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
पार्टीका नेता जितराम लामाका अनुसार केही निर्वाचन क्षेत्रको विवरण आउन बाँकी रहे पनि हालसम्म १२० क्षेत्रका उम्मेदवार टुंगो लागेको छ । उनका अनुसार देशभर संगठन विस्तारसँगै पार्टीले व्यापक रूपमा उम्मेदवारी दिएको हो ।
पार्टी अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् भने उपाध्यक्ष जितराम लामा भक्तपुर क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिएका छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताका लागि सहमति भए पनि पछि उज्यालो नेपाली पार्टीले एक्लै चुनाव लड्ने निर्णय गरेको हो । समानुपातिकतर्फ भने उज्यालोले राष्ट्रिय परिवर्तन पार्टीमार्फत उम्मेदवारी दिएको छ ।
काठमाडौं उपत्यकादेखि सुदूरपश्चिमसम्मका अधिकांश जिल्लामा उम्मेदवारी दिएको पार्टीले जनमुखी राजनीति र वैकल्पिक शक्तिको रूपमा आफूलाई स्थापित गर्ने दाबी गरेको छ ।
पार्टीले सार्वजनिक गरेको सूचीअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, रुपन्देही, दाङ, बाँके, कैलाली, कञ्चनपुरलगायत जिल्लामा उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।
उज्यालो नेपाली पार्टीले आगामी निर्वाचनमा उल्लेखनीय उपस्थिति जनाउने अपेक्षा गरेको जनाएको छ।