मन्त्री कुलमान घिसिङले दिए राजीनामा, प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी
काठमाडौं — ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले आजै प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले मन्त्री पदबाट राजीनामा दिएको जनाइएको छ। घिसिङले भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका थिए।
राजीनामा दिएपछि मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरी आफ्नो निर्णयबारे औपचारिक जानकारी गराउने तयारी गरेका छन्। प्रधानमन्त्री कार्यालयले उनको राजीनामा बुझाएको तस्बिरसमेत सार्वजनिक गरेको छ।
घिसिङले यसअघि आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ नामक नयाँ राजनीतिक दल दर्ता गराएका थिए। हाल भने उक्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भएको छ। उनी हाल रास्वपाका उपसभापति समेत रहेका छन्।
उनको राजीनामासँगै प्रतिनिधिसभा निर्वाचनमा उनको भूमिकालाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।