तीन समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौँ — निर्वाचन आयोगमा तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ। आयोगका अनुसार विभिन्न राजनीतिक दलका तर्फबाट समानुपातिक सूचीमा समावेश उम्मेदवारहरूविरुद्ध उजुरी दर्ता भएका हुन्।
नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर मण्डलविरुद्ध उजुरी परेको छ। मण्डल आदिवासी जनजाति समुदायका व्यक्ति भएकाले मधेसी क्लस्टरअन्तर्गत राख्न नमिल्ने दाबी उजुरीमा गरिएको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ। उजुरीमा उनलाई अपांगता भएको व्यक्ति भनेर सूचीमा समावेश गरिएको भए पनि उनी अपांगता भएको व्यक्ति नभएको दाबी गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार कुमारबहादुर थापाविरुद्ध पनि उजुरी परेको छ। उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर विचाराधीन अवस्थामा रहेको भन्दै आयोगमा उजुरी दर्ता गरिएको हो।
निर्वाचन आयोगले प्राप्त उजुरीहरूलाई एकीकृत गरी अध्ययन सुरु गरिसकेको जनाएको छ।
राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएका थिए। नाम फिर्ता लगायतका प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली प्रकाशित गरिएको हो। सोही नामावलीविरुद्ध परेका उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ।
निर्वाचन कार्यतालिकाअनुसार यही माघ २० गते समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ।