पूर्वी युक्रेनमा रूसी ड्रोन आक्रमण, पाँच वर्षीय बालकसहित चारको मृत्यु
पूर्वी युक्रेनमा रूसी ड्रोन आक्रमणमा पाँच वर्षीय बालकसहित चार जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार बिहीबार डोनेट्स्क क्षेत्रमा भएको आक्रमणमा अन्य पाँच जना घाइते भएका छन् भने दुईवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्।
स्थानीय प्रशासनले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ३२ वर्षीय पुरुष, उनका पाँच वर्षीय छोरा र उनीहरूका दुई छिमेकी रहेको जनाएको छ। चेरकास्के गाउँमा भएको आक्रमणमा तीन जना किशोरी र एक ३४ वर्षीया महिला घाइते भएको अधिकारीहरूले बताएका छन्।
डोनेट्स्क क्षेत्र क्रेमलिन समर्थित सेनाको मुख्य लक्ष्य रहँदै आएको छ। रूसले सन् २०२२ को अन्त्यमा उक्त औद्योगिक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरे पनि सम्पूर्ण क्षेत्रमाथि पूर्ण नियन्त्रण नभएको युक्रेनले बताउँदै आएको छ।
रूसले युक्रेनसँग हुने कुनै पनि सम्भावित शान्ति सम्झौताका क्रममा डोनेट्स्क छोड्नुपर्ने माग गर्दै आएको छ। क्रेमलिन समर्थकको सैन्य तथा राजनीतिक प्रभाव विस्तारसँगै रूसले डोनेट्स्कका केही भाग र छिमेकी लुगान्स्क क्षेत्रमाथि नियन्त्रण कायम राखेको बताइएको छ।