शंकरापुरको जंगलमा पिकनिक बस दुर्घटना, २२ घाइते
२३ पुस, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–३ स्थित जंगलमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पिकनिक गएर फर्किंदै गरेको बा ४ ख ८७८८ नम्बरको बस साँझ ५ बजेर ४५ मिनेटमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार सडकबाट करिब सय मिटर तल खसेको बस रुखमा अड्किएको थियो। दुर्घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको उनले जानकारी दिए।
बसमा ३५ देखि ४० जना सवार रहेका थिए। नेचर हब नामक संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २२ जनालाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको छ। घाइतेहरूको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेललगायतका अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।