स्विट्जरल्यान्डको स्की रिसोर्ट बारमा आगलागी, मृतक संख्या ४० पुग्यो
काठमाडौँ । स्विट्जरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट क्रान्स–मोन्टानास्थित एक बारमा आगलागी हुँदा मृत्यु हुनेको संख्या कम्तीमा ४० पुगेको छ। उक्त घटनामा ११५ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।
नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समयअनुसार बिहीबार बिहान करिब १:३० बजे ‘ली कन्स्टेलिसन’ नामक बारमा आगलागी भएको हो। भालिस क्षेत्रको उक्त पर्यटकीय स्थलमा आगो नियन्त्रणमा लिन रातभर १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स र करिब १५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो।
स्थानीय प्रहरीले मृतक र घाइतेको संख्या अझै यकिन हुन नसकेको भए पनि कम्तीमा ४० जनाको मृत्यु पुष्टि भएको जनाएको छ। धेरै व्यक्ति आगोमा जलेर घाइते भएका छन्।
भालिसको सियोन अस्पतालमा मात्रै ६० जनाको उपचार भइरहेको छ, जसमध्ये धेरैको अवस्था अति गम्भीर रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गम्भीर घाइतेलाई लोजान, ज्युरिख र जेनेभाका विशेष बर्न्स युनिट भएका अस्पतालमा सारिएको छ। लोजान युनिभर्सिटी अस्पतालमा २२ जना र ज्युरिख युनिभर्सिटी अस्पतालमा १२ जनाको उपचार भइरहेको छ।
घटनामा विभिन्न देशका नागरिक प्रभावित भएका छन्। इटालीको विदेश मन्त्रालयले १६ जना इटालियन नागरिक बेपत्ता रहेको र १२ देखि १५ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ। फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको र मृतकमध्ये फ्रान्सेली पनि हुन सक्ने जनाएको छ।
अधिकारीहरूले मृतक र घाइतेको पहिचान गर्न समय लाग्ने बताएका छन्। पीडित परिवारको सहजीकरणका लागि हेल्पलाइन नम्बर +४१ ८४८ ११२ ११७ खुला गरिएको छ।
राज्य काउन्सिलर स्टेफान गान्जरले नयाँ वर्षको पार्टीका कारण बारमा ठूलो भीड रहेको बताए। आगलागीको कारणबारे अनुसन्धान सुरु गरिएको अटर्नी जनरल बियाट्रिस पिलुदले जानकारी दिइन्। सम्भावित कारणबारे हल्ला भए पनि अनुसन्धान पूरा नभएसम्म कुनै निष्कर्ष निकाल्न नसकिने उनको भनाइ छ।
स्विट्जरल्यान्डका लागि इटालियन राजदूत जियान लोरेन्जो कोर्नादोले मृतकको पहिचान गर्न हप्तौं लाग्न सक्ने बताएका छन्।