रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा भीम रावलको आपत्ति
काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उन्मुक्ति दिइएकोप्रति आपत्ति जनाएका छन्।
रावलले अन्तरिम सरकारका महान्यायाधीवक्ताले गम्भीर प्रकृतिका अभियोग लागेका व्यक्तिहरूका मुद्दा खारेज गर्ने निर्णय गरेको भन्दै कडा आलोचना गरेका छन्। उनले यस्तो निर्णयले युवाहरूको आवाजलाई दबाउने मात्र नभई खैरो सूचीमा परेको र कालो सूचीमा पर्ने जोखिममा रहेको देशलाई थप कुशासन र स्वेच्छाचारीतन्त्रतर्फ धकेल्ने प्रयास भएको आरोप लगाए।
‘संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता गम्भीर अभियोग लागेका मानिसहरूको मुद्दा खारेज गर्ने निर्णयले कानुनी शासन र न्यायप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ,’ रावलले भनेका छन्।
महान्यायाधीवक्ताको कार्यालयले सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रवि लामिछानेलगायतका व्यक्तिहरूलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दाबाट छुट दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई लिएर राजनीतिक तथा सार्वजनिक क्षेत्रमै बहस सुरु भएको छ।