फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
फ्रान्सले बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउने नयाँ प्रयासस्वरूप १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ। एएफपीका अनुसार यो पहललाई राष्ट्रपति इम्यानुएल म्याक्रोँले समर्थन गरेका छन्। उनले डिसेम्बरको सुरुवातमा संसद्ले नयाँ वर्षदेखि यस प्रस्तावमाथि बहस सुरु गर्ने बताएका थिए।
यसै महिना अस्ट्रेलियाले पनि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको थियो। “धेरै अध्ययन र प्रतिवेदनहरूले किशोरकिशोरीमा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले विभिन्न जोखिम निम्त्याउने पुष्टि गरेका छन्,” फ्रान्सेली मस्यौदामा उल्लेख गरिएको छ।
सरकारद्वारा जारी विज्ञप्तिअनुसार अनियन्त्रित अनलाइन पहुँचका कारण बालबालिका अनुपयुक्त सामग्रीको सम्पर्कमा आउन सक्ने, साइबर उत्पीडनको शिकार हुने तथा निद्राको ढाँचामा नकारात्मक असर पर्ने जोखिम देखिएकाले यो निर्णय लिइएको हो।
मस्यौदामा दुई धारा समावेश छन्। पहिलो धाराले १५ वर्षमुनिका नाबालिगलाई सामाजिक सञ्जाल सेवा उपलब्ध गराउने कार्यलाई अवैध बनाउनेछ भने दोस्रो धाराले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउन आह्वान गर्दछ।
म्याक्रोँले भनेका छन्, “नाबालिगहरूको डिजिटल सुरक्षा हाम्रो सरकारको प्राथमिकता हो, तर यसको कार्यान्वयन र अन्तर्राष्ट्रिय कानुनको पालना महत्वपूर्ण बहसका विषय हुन्।”
फ्रान्समा प्राथमिक र निम्न माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध सन् २०१८ मै लागू गरिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन विरलै देखिएको छ।
यसैबीच, फ्रान्सले सन् २०२३ मा १५ वर्षलाई ‘डिजिटल कानुनी उमेर’ घोषणा गर्दै युरोपेली सङ्घ (इयू) का नियमहरूसँग समन्वय गर्ने प्रयास गरेको थियो। पछिल्लो प्रस्तावले त्यसलाई प्रभावित गर्न सक्ने देखिएको छ।
फ्रान्सको माथिल्लो सदन सिनेटले यस महिना १३ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई सामाजिक सञ्जालमा दर्ता गर्न अभिभावकको अनुमति अनिवार्य गर्ने प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव राष्ट्रिय सभामा पेश गरिएको छ, जहाँ अनुमोदन भएपछि मात्र कानून बन्नेछ।