प्रतिनिधिसभा निर्वाचन: एमालेद्वारा दुवै क्षेत्रमा उम्मेदवार घोषणा
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ।
निर्वाचन क्षेत्र नम्बर १ बाट काजीमान कागते र निर्वाचन क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको हो। शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकले १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ।
सुहाङ नेम्वाङ निवर्तमान संघीय सांसद हुन्। उनले इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट सम्पन्न उपनिर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए। यस्तै, निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार काजीमान कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन्।
निर्वाचन हुन अब ४६ दिन बाँकी छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ता यही माघ ६ गते तोकिएको छ।