रास्वपाका बालेनद्वारा सुदूरपश्चिममा मौन चुनावी अभियान
महेन्द्रनगर, १६ माघ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशको चुनावी अभियान आज सम्पन्न गरेका छन्। कैलालीको लम्कीबाट सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित अभियानका क्रममा उनले सुदूरपश्चिमका तराई र पहाडी गरी नौ जिल्लामा पार्टीको चुनावी गतिविधि पूरा गरेका हुन्।
चार दिनअघि कैलाली निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत लम्कीबाट अभियान थालेका शाहले कैलाली र कञ्चनपुरसहित डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा पार्टीका उम्मेदवार तथा कार्यकर्तासँग भेटघाट गरेका थिए। यद्यपि, उनले कुनै पनि सार्वजनिक कार्यक्रम वा मञ्चबाट सम्बोधन नगरी ‘मौन अभियान’ सञ्चालन गरेका थिए।
अभियानका क्रममा शाहले जिल्लास्थित पार्टी कार्यालय तथा उम्मेदवारका सम्पर्क कार्यालयमा पुगेर घण्टी बजाउँदै समर्थकहरूमाझ उपस्थित भए पनि भाषण नगरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका शाहले निर्वाचन आचारसंहिता पालना गर्दै सार्वजनिक सम्बोधन नगरेको पार्टी नेताहरूले बताएका छन्।
कैलाली–२ बाट रास्वपाले युवा नेता केपी खनाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। खनाल पार्टीभित्र बालेन निकट नेताका रूपमा परिचित छन्। अभियानका क्रममा शाहले उम्मेदवारहरूसँग छोटो छलफल गर्नुका साथै स्थानीय समस्या, मतदाता र पार्टीको अवस्थाबारे जानकारी लिएको रास्वपाका नेताहरूले बताएका छन्।
लम्कीपछि धनगढी हुँदै कञ्चनपुरको पुनर्बास, शुक्लाफाँटा र महेन्द्रनगर पुगेका शाहले विभिन्न स्थानको अवलोकन गरेका तस्बिर तथा डोट्याली भाषामा लेखिएका स्टाटस सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। डडेल्धुरामा प्रसिद्ध ‘बाजेको खीर’ को स्वाद लिएको तथा हिमपातसँगै खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका थिए।
रास्वपाका नेता हरिश भट्टका अनुसार सुदूरपश्चिमको अभियान सकेर शाह नेतृत्वको टोली शुक्रबार कर्णाली प्रदेशतर्फ प्रस्थान गरेको छ। ‘उहाँ अहिले कालिकोटको मान्म पुग्नुभएको छ,’ भट्टले बताए। उनका अनुसार आगामी दिनमा पार्टीले प्रदेशस्तरीय चुनावी सभाहरू आयोजना गर्ने र ती सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ।
पार्टी नेताहरूका अनुसार बालेनको सुदूरपश्चिम भ्रमणले स्थानीय कार्यकर्ता र समर्थकहरूमा उल्लेख्य उत्साह थपेको छ।