सल्यानमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्वाचन बहिष्कार अभियान तीव्र
सल्यान, ११ माघ । क्रान्तिकारी कम्युनिष्ट पार्टीले सल्यान जिल्लामा निर्वाचन बहिष्कार अभियानलाई तीव्र पारेको छ। ४ नम्बर क्षेत्रीय ब्युरो अन्तर्गतको ३ नम्बर कमाण्डको नेतृत्वमा आज जिल्लाका विभिन्न प्रमुख व्यापारिक केन्द्र तथा स्थानीय तहमा एकैसाथ भण्डाफोर तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरिएको छ।
पार्टीका अनुसार आज कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, त्रिवेणी गाउँपालिकाको लुहाम, शारदा नगरपालिकाको श्रीनगर र बागचौर नगरपालिकाको थारमारेमा कोणसभा तथा भण्डाफोर कार्यक्रम गरिएका हुन्।
‘निर्वाचन विदेशी शक्तिको इसारामा’
श्रीनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी उज्ज्वलले वर्तमान निर्वाचन प्रणाली विदेशी शक्तिको इसारामा सञ्चालन भइरहेको दाबी गर्नुभयो। उहाँले साम्राज्यवादी स्वार्थबाट निर्देशित सरकारले गराउन लागेको निर्वाचनमा सहभागी नहुन आम जनतालाई आह्वान गर्नुभयो।

यस्तै, अभियानका कमाण्डर एवं पार्टी केन्द्रीय सदस्य मोतिराम खड्काले भ्रष्ट र दलाल चरित्रको सरकारले निर्वाचनका नाममा देशलाई थप आर्थिक भार थोपरेको आरोप लगाउनुभयो। "भारत र अमेरिकाको स्वार्थ अनुसार नयाँ दलको आवरणमा दलालहरुकै संरक्षण गर्ने षड्यन्त्र भइरहेकोले देशभक्त बामपंथी तथा क्रान्तिकारीहरुलाइ एकताबद्द हुन आह्वान गर्दै सबैलाई गोलबद्द हुन खड्काले अपिल गर्नुभयो ।
अभियान गाउँ–गाउँसम्म लैजाने तयारी
हिजो मात्रै सल्यान र रुकुममा औपचारिक रुपमा सुरु गरिएको यो अभियान आजदेखि पूर्ण रुपमा ‘फिल्ड’ मा प्रवेश गरेको पार्टीले जनाएको छ। कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको दाबी गर्दै पार्टीले वर्तमान निर्वाचन प्रणालीको विकल्पमा 'स्वाधीन, संयुक्त सरकार' गठन हुनुपर्ने माग अघि सारेको छ।
पार्टीले भोलि रुकुमका विभिन्न ठाउँमा पुगेर बहिष्कार अभियानलाई थप सशक्त बनाउने तयारी पूरा भएको जानकारी दिएको छ।



