अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको घरमा आक्रमण
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको ओहायो राज्यको सिनसिनाटीस्थित घरमा आक्रमण भएको छ।
सीएनएनले जनाएअनुसार भेन्सको घरमा आक्रमण गरेर झ्यालका सिसा फुटाइएको छ। घटनापछि प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आइतबार राति करिब १२:१५ बजे भेन्सको घर नजिकबाट एक व्यक्ति भागिरहेको देखिएको बताइएको छ।
अधिकारीहरूका अनुसार घटना भएको समयमा जेडी भेन्स र उनको परिवार घरमा उपस्थित थिएनन्। प्रारम्भिक जानकारी अनुसार पक्राउ परेका व्यक्ति उपराष्ट्रपतिको घरभित्र प्रवेश गर्न सकेका थिएनन्।
अनुसन्धानमा संलग्न निकायहरूले यो घटना जेडी भेन्स वा उनको परिवारलाई लक्षित गरी गरिएको हो कि होइन भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।
भेन्स पछिल्लो एक सातादेखि सिनसिनाटीमै थिए, तर आइतबार दिउँसो शहर छाडेका थिए। उनले उक्त घर किन्न करिब १४ लाख डलर खर्च गरेका थिए। घर करिब २.३ एकड क्षेत्रफलमा फैलिएको छ।