जेन–जी आन्दोलनको जिम्मेवारी ओली नेतृत्वको सरकारको हो : वर्षमान पुन
काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले गत भदौ २३ गते भएको जेन–जी आन्दोलन र त्यसपछि देखिएको विध्वंशको मुख्य जिम्मेवारी केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारमाथि रहेको आरोप लगाएका छन्।
सोमबार राजधानीमा पार्टीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै पुनले ओली सरकारको भ्रष्ट, स्वेच्छाचारी, दमनकारी र निरंकुश प्रवृत्तिका कारण नवयुवामा चुलिएको असन्तुष्टि विस्फोट भएको दाबी गरे। जनताका आवाज नसुन्ने र बिचौलिया तथा स्वार्थ समूहको सेवामा मात्र केन्द्रित सरकारकै कारण मुलुक अशान्त बनेको उनको भनाइ थियो।
‘भदौ २३ गतेको आन्दोलन केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारको गलत प्रवृत्तिविरुद्ध नवयुवामा गुम्सिएको असन्तोषको विस्फोट थियो,’ पुनले भने, ‘सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर जनताको मुख थुन्ने प्रयासको पनि जवाफ थियो त्यो।’
तर, भदौ २४ गते भएको आगजनी र लुटपाटमा भने गलत तत्त्वको घुसपैठ भएको उनले औंल्याए। ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर हेलिकोप्टरमार्फत बाहिरिएपछि सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालतजस्ता राज्यका धरोहर तथा निजी घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको पुनको आरोप थियो।
पुनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १८ महिनाको अवधिमा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न र सुशासनका लागि कदम चालेपछि डराएर कांग्रेस–एमाले एक भएको टिप्पणी गरे। आगामी २१ फागुनमा हुने निर्वाचनबाट जनताले ती शक्तिलाई थप दण्डित गर्ने दाबीसमेत उनले गरे।