बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचन: दुई पदका लागि ६ उम्मेदवार मैदानमा
२३ पुस, हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा रिक्त दुई पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेश निर्वाचन कार्यालय हेटौंडामा बुधबार चार राजनीतिक दलका ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्ने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेका छन्।
एमाले–कांग्रेस गठबन्धनबाट नेकपा एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटाले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाले मनोनयन दर्ता गरेका छन्।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जन र विक्रम ढुकुछेले उम्मेदवारी दिएका छन्।
बागमती प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन्। तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुने व्यवस्था छ। बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन हुन लागेको हो।
प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेश सभाका ११० जना सदस्य तथा प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कुल ३४८ जना मतदाता रहेका छन्।
मतभारका हिसाबले स्थानीय तहका प्रमुख तथा उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० गरी जम्मा १० हजार ३ सय ५२ मतभार रहेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ। त्यहाँ दुई वटा मतदान केन्द्र रहनेछन्। निर्वाचन आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ।