राष्ट्रियसभा निर्वाचनका लागि ४४ उम्मेदवारको मनोनयन सूची सार्वजनिक
२३ पुस, काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ।
आयोगद्वारा सार्वजनिक गरिएको सूचीअनुसार १९ पदका लागि हुने निर्वाचनमा प्रदेशगत रूपमा विभिन्न राजनीतिक दलका गरी ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो।
निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारीमाथि पुस २४ गते उजुरी दिन सकिनेछ भने पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। पुस २७ गते उम्मेदवारी फिर्ता लिन सकिने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
कानुनी व्यवस्थाअनुसार राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहनेछन्।
सोही बमोजिम प्रदेशसभा सदस्य ५४५ जना तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जना गरी कुल २ हजार ४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत गरिएको आयोगले जनाएको छ।
मतभारको व्यवस्थाअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते हुने कार्यतालिका रहेको छ।