युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु भएको रुसको दाबी
काठमाडौं
युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको नियन्त्रणमा रहेको भूभागमा युक्रेनी ड्रोन आक्रमण हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको र ५० भन्दा बढी व्यक्ति घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मस्कोले नियुक्त गरेका खेरसोन क्षेत्रका गभर्नर र रुसी अधिकारीहरूले बिहीबार उक्त जानकारी दिएका हुन्।
गभर्नर भ्लादिमिर साल्डोका अनुसार ब्ल्याक सीको तटीय ग्रामीण इलाकामा रहेको एक क्याफे र होटललाई लक्षित गरी तीनवटा मानवरहित हवाई यान (यूएभी) बाट आक्रमण गरिएको थियो। उनले टेलिग्राममार्फत आक्रमणमा २४ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्।
रुसी अनुसन्धान समितिले २० जनाभन्दा बढीको मृत्यु भएको घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको जनाएको छ। घटनास्थलका तस्वीरहरूमा भवनमा क्षति पुगेको र आगलागी भएको देखिएको रुसी अधिकारीहरूको दाबी छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले उक्त आक्रमणलाई सर्वसाधारणलाई लक्षित ‘आतंकवादी हमला’ भएको आरोप लगाएकी छन्।
यस घटनाबारे युक्रेनी अधिकारीहरूले भने कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
खोरली गाउँ ब्ल्याक सीको तट नजिक अवस्थित क्षेत्र हो, जुन फेब्रुअरी २०२२ मा युक्रेनविरुद्ध रुसले सैन्य आक्रमण सुरु गर्दा रुसी नियन्त्रणमा पुगेको थियो। सन् २०२२ को शरद ऋतुमा युक्रेनी सेनाले प्रत्याक्रमण गर्दै खेरसोन क्षेत्रको ठूलो हिस्सा, क्षेत्रीय राजधानीसहित, पुनः नियन्त्रणमा लिएको थियो।