जिल्लामा ७ लाख १३ हजारभन्दा बढी मतदाता, क्षेत्र नम्बर ५ मा सबैभन्दा धेरै
जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ५ मा रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता पुगेका छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार क्षेत्र नम्बर ५ मा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य दुई गरी कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्। यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन्।
क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित कुल १ लाख ३० हजार ७१२ मतदाता छन्। यहाँ ६३ वटा मतदानस्थल र १५६ वटा मतदान केन्द्र रहेका छन्।
त्यसैगरी क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिलासहित कुल १ लाख १० हजार ८५७ मतदाता रहेका छन्। यस क्षेत्रमा ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र तोकिएका छन्।
क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित कुल १ लाख ४७ हजार ५२२ मतदाता रहेका छन्। यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सबैभन्दा कम मतदाता रहेको क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला मतदाता रहेका छन्। यस क्षेत्रमा ४३ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम गरिएको कार्यालय प्रमुख नेपालले जानकारी दिए।