रास्वपामा उम्मेदवार छनोटलाई लिएर सुनसरीमा विवाद चर्कियो
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई लिएर सुनसरीमा तीव्र विवाद उत्पन्न भएको छ। सुनसरी क्षेत्र नम्बर २ र ३ मा उम्मेदवार सिफारिस गर्ने क्रममा पार्टीको खुला प्रतिस्पर्धा र आन्तरिक लोकतान्त्रिक अभ्यास मिचिएको आरोपसहित पार्टीभित्रै असन्तुष्टि चुलिएको हो।
सुनसरीका रास्वपा नेता देवराज अधिकारीले कोशी प्रदेश महामन्त्री लालविक्रम थापाले उम्मेदवार छनोटमा ‘सिन्डिकेट’ चलाएको आरोप लगाएका छन्। अधिकारीका अनुसार थापाले स्थानीय तहका समितिहरूमाथि दबाब दिँदै क्षेत्र नम्बर २ र ३ मा एकल नाम सिफारिस गराएका हुन्।
उनका अनुसार क्षेत्र नम्बर २ बाट अशोक कुमार चौधरी, यादव नेपाल र लालविक्रम थापाको उम्मेदवारी परेको भए पनि इटहरी र देवानगञ्जका समितिलाई प्रयोग गरेर थापाको नाममात्रै सिफारिस गराइएको छ। त्यस्तै, क्षेत्र नम्बर ३ मा निरज कटुवाल, मनमाया ढकाल, आनन्द कुमार हलुवाई र राजाराम मेहता आकाङ्क्षी रहे पनि इटहरी उपमहानगर समितिले राजाराम मेहताको नाम एकल रूपमा सिफारिस गरेको आरोप छ।
इटहरी उपमहानगर समिति र देवानगञ्ज गाउँपालिका समितिले पुस ३० गते उम्मेदवार सिफारिससम्बन्धी पत्र पठाएका थिए। इटहरी समितिका सचिव दीपक बस्नेत र सभापति महेश थापाद्वारा हस्ताक्षरित पत्रमा क्षेत्र नम्बर २ का लागि लालविक्रम थापालाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरिएको उल्लेख छ। देवानगञ्ज गाउँपालिकाका सातै वडाका सभापतिले पनि सामूहिक हस्ताक्षर गर्दै थापालाई समर्थन गरेका छन्।
तर, इटहरी समितिले क्षेत्र नम्बर ३ मा एकल नाम पठाएपछि क्षेत्रीय निर्वाचन समितिले माघ १ गते आपत्ति जनाउँदै पत्र काटेको छ। क्षेत्रीय संयोजक यादव कोइरालाद्वारा हस्ताक्षरित पत्रमा इटहरी समितिले पार्टीको स्थापित प्रक्रिया र अधिकार क्षेत्र मिचेको आरोप लगाइएको छ। पत्रमा एकल सिफारिसलाई प्रक्रियागत रूपमा अमान्य ठहर गरिएको छ।
यसैबीच, महामन्त्री थापामाथि आर्थिक अनियमितताको आरोप पनि उठाइएको छ। अधिकारीका अनुसार इटहरीस्थित जनता स्कुलको २ कट्ठा जग्गा लिजमा लिएर थापाले विद्यालयलाई करिब ८५ लाखदेखि १ करोड रुपैयाँसम्म भाडा नतिरेको आरोप छ। यो विषय अख्तियार र अदालतमा विचाराधीन रहेको अधिकारीको दाबी छ।
यता, लालविक्रम थापाले आफूमाथि लागेका सबै आरोपको खण्डन गरेका छन्। उनले पार्टीको विधि र विधानअनुसार नै उम्मेदवार छनोट प्रक्रिया अघि बढेको दाबी गर्दै सबै आकाङ्क्षीको नाम केन्द्रमा पठाइएको बताए। विद्यालयको जग्गा विवाद अदालतमा विचाराधीन रहेको र त्यहीँबाट टुंगो लाग्ने उनको भनाइ छ।
उम्मेदवार छनोट र आर्थिक विवादलाई लिएर सुनसरीका रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछाने र नेता स्वर्णिम वाग्लेलाई समेत ध्यानाकर्षण पत्र पठाएका छन्। स्थानीय तहमा विवाद चर्किंदै जाँदा केन्द्रले कस्तो निर्णय लिन्छ भन्ने विषयमा चासो बढेको छ।