प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा ६८ सांसदको रिट सर्वोच्चमा बुझाइने
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना माग्दै नेपाली कांग्रेसका ६५ र अन्य ३ दलका सांसदले सोमबार हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट बुझाउने तयारी गरेका छन्। कांग्रेसका सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत पुनर्स्थापना माग गर्दै रिट पेस गर्न लागेका हुन्।
यसअघि एमालेका ७५ सांसदले प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका थिए। कांग्रेसका सांसदहरूको हस्ताक्षर पनि बुझाएपछि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बहुमत पुग्ने देखिन्छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ। कांग्रेस र अन्य दलका ६८ सांसदको हस्ताक्षरसहित एमालेका ७५ सांसदको संख्या जोड्दा कुल १४३ पुग्छ, जसले बहुमत सुनिश्चित गर्दछ।
कांग्रेसकी सचेतक सुशीला थिङले हस्ताक्षरसहितको पूरक रिट वारेसनामामार्फत आजै सर्वोच्चमा दर्ता गरिने जानकारी दिइन्। पूर्वमहान्यायाधिवक्ता खातीले पनि हस्ताक्षरसहितको रिट तयार रहेको र सकेसम्म आजै पेस गरिने जानकारी दिए।
यसअघि कांग्रेसका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक थिङ तथा केही सांसदहरूले मङ्सिर २३ गते रिट दायर गरेका थिए। रिटमा माग गरिएको छ कि गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीमा नियुक्ति भएका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै संसद्मै प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउन सर्वोच्चले परमादेश देओस्।
कांग्रेस–एमालेका नेताहरूले बहुमत सांसदको हस्ताक्षरसहितको रिट पेस गर्दा सर्वोच्चले फैसला गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्।