२२ वर्षपछि कर्तव्य ज्यानका फरार अभियुक्त पक्राउ
१९ मंसिर, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना जेल सजाय भोगाउनुपर्ने एक फरार अभियुक्त २२ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–४ का ४३ वर्षीय खेमबहादुर थजाली रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–८ कालिपुलबाट सोमबार टिकाउ सुराकीका आधारमा पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार थजाली लगायतका व्यक्तिले ६ कात्तिक २०६० मा म्याग्दीको दग्नाम गाविस–२ का धनराम तिलिजाको हत्या गरेका थिए। घरमै सुतिरहेका तिलिजामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
उक्त घटनामा संलग्न रहेको ठहर गर्दै म्याग्दी जिल्ला अदालतले २९ चैत २०६३ मा थजालीलाई १९ वर्ष ७ महिना कैद सजाय सुनाएको थियो। सजाय तोकिएलगत्तै उनी फरार भएका थिए।
२२ वर्षदेखि फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।