लायन्स क्लबको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिकलाई ‘म्याजिक लाइट’ हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारी व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ।
उक्त म्याजिक लाइट लायन्स क्लब अफ काठमाडौँ थलीले खरिद गरी आज जिल्ला प्रशासन कार्यालयमा आयोजित विशेष कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पौडेलले लायन्स क्लबको सहयोगको सराहना गर्दै म्याजिक लाइटले रातमा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “काठमाडौँको सडकमा रातको समयमा ट्राफिक व्यवस्थापन कठिनाइपूर्ण हुन्छ, धेरै समय गाडी ट्राफिक नदेखी ठक्कर दिने अवस्था आउँछ। म्याजिक लाइटको प्रयोगले यस समस्यामा केही राहत दिनेछ।”
उपत्यका ट्राफिक प्रमुख अधिकारी नवराज अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालय र यसको संरचनामा आएको क्षतिको बारेमा जानकारी दिँदै भने, “पाँच मिनेटको लागि पनि ट्राफिकविनाको चोकको अवस्था अनुमान गर्न सकिन्छ, यसले केवल सवारी सञ्चालनमा मात्र नभएर सार्वजनिक जीवनमा पनि ठूलो प्रभाव पार्छ। म्याजिक लाइटले सवारी व्यवस्थापनमा नयाँ आशा थप्ने विश्वास छ।”
जेनजी आन्दोलनका कारण कार्यालयका विभिन्न भवन, उपकरण र ट्राफिक प्रहरीका लुगा समेत जल्नुका साथै व्यापक क्षति पुगेको उनले बताए। उनले नागरिकस्तरबाट पुनर्निर्माण प्रक्रिया अघि बढेको र ट्राफिक व्यवस्थापनलाई नयाँ ढङ्गले सुधार्ने प्रयास भइरहेको जानकारी दिए।
लायन्स क्लब अफ काठमाडौँ थलीका अध्यक्ष रुपक सिमखडाले भने, “हामी समाजको लागि आवश्यक सहयोग प्रदान गर्ने प्रयासमा सधैं अग्रसर छौँ। ट्राफिक व्यवस्थापन सुधारका लागि गरेको यो पहलसहित भविष्यमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।”