नेपाल विद्युत् प्राधिकरणद्वारा आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् कटौती
काठमाडौं – नेपाल विद्युत् प्राधिकरण (नेवा प्रा) ले आज काठमाडौंका धेरै स्थानमा विद्युत् कटौती हुने जनाएको छ। विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाका कारण दिनभरि विभिन्न समयमा बिजुली बन्द गरिने प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जानकारी दिएको हो।
प्राधिकरणका अनुसार पशुपतिनाथ क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर, मित्रपार्क, बत्तीसपुतलीलगायत ठाउँमा आज बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। विमानस्थल फिडरअन्तर्गत ढल किवास आयोजना, आर्मी व्यारेक क्षेत्र, तथा बत्तीसपुतली फिडरअन्तर्गत चाबहिल दीर्घायु अस्पतालदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म सेवा बन्द रहनेछ।
यस्तै नयाँ चाबहिल–नयाँबस्ती फिडरअन्तर्गत पर्ने क्षेत्रमा भने बिहान ७ देखि ८ बजेसम्म विद्युत् काटिने प्राधिकरणले जनाएको छ। यसले चाबहिलचोक, गौरीघाट चोक हुँदै नयाँबस्ती क्षेत्र पूर्ण रूपमा प्रभावित हुनेछ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा प्रकट गर्दै तोकिएको कार्य समयअघि नै सम्पन्न भएमा उक्त क्षेत्रहरूमा सेवा यथाशक्य चाँडो सुचारु गरिने जनाएको छ।