जहदामा दाजुले धारिलो हतियार प्रहार गरी भाइको हत्या, भारत फरार
१८ मंसिर, विराटनगर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले धारिलो हतियार प्रहार गर्दै भाइको हत्या गरेका छन्। सामान्य घरायसी विवादका बीच २८ वर्षीय श्रवणकुमार साहमाथि दाजु राजकुमार साहले आक्रमण गरेका प्रहरीले जनाएको छ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका श्रवणकुमारलाई विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।
हत्यापछि दाजु राजकुमार भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। घटना स्थल भारतीय सीमानाकाे करिब १०० मिटर दूरीमा रहेको छ, जसले उनलाई भाग्न सहज भएको अनुमान प्रहरीले गरेको छ।
मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा भएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।