हेटौंडामा सडक विस्तारको कार्य तीव्र, सुरक्षा घेरामा संरचना हटाउन सुरू
२० मंसिर, हेटौंडा — सडक विस्तारका लागि १५ दिने अल्टिमेटम सकिएसँगै सडक डिभिजन हेटौंडाले शनिबार बिहानैदेखि बजार क्षेत्रका संरचना भत्काउने कार्य सुरू गरेको छ। स्थानीय प्रशासन र ठूलो संख्यामा परिचालन गरिएका सुरक्षाकर्मीको उपस्थितिमा डिभिजनले झिसमिसेमा नै विस्तार कार्य अघि बढाएको हो।
बुद्धचोकस्थित खाली घर भत्काउने काम जारी रहेको डिभिजनले बजारका अन्य स्थानहरूमा पनि एकैपटक डोजर चलाउन सुरू गरिसकेको छ। डिभिजनका अनुसार ३–४ ठाउँबाट समानान्तर रूपमा विस्तार कार्य अघि बढाइँदै छ।
सडक डिभिजनले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म २५/२५ गज (७५/७५ फिट) सीमा कायम गरी भित्र पर्ने घर, टहरा र संरचना हटाउन गत ५ मंसिरमा १५ दिने अल्टिमेटमसहित सूचना निकालेको थियो। सर्वोच्च अदालतको आदेशलाई आधार बनाउँदै जारी गरिएको उक्त सूचनाको अन्तिम दिन शुक्रबार भए पनि सडक सीमाभित्रका संरचना हटाइएका छैनन्।
मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै अधिकांश घरधनी र व्यवसायी आन्दोलित छन्। सडक विस्तार विरोधमा प्रदर्शन भइरहेका बेला केही सीमित घरधनी भने संरचना हटाउन सहमत भई सामान सार्ने तयारीमा जुटिसकेका छन्। मकवानपुर उद्योग वाणिज्य संघले भने आन्दोलनमा सहभागी नहुन निर्णय लिएको उपाध्यक्ष उज्वल चौलागाईंले बताएका छन्।
सडक डिभिजनका अनुसार रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको ८.५ किलोमिटर क्षेत्रभित्र पर्ने ५३१ संरचना हटाउनुपर्नेछ। सडकको केन्द्रबिन्दुदेखि दायाँ २५ गजभित्र २३४ र बायाँ २५ गजभित्र २९७ घर–टहरा तथा संरचना पर्ने डिभिजनले जनाएको छ।
यसअघि २०७६ असारमा १ नम्बर वडामा सरकारी निकायले उपभोग गरिरहेका सडक क्षेत्र खाली गराएपछि सडक डिभिजनले लामो समय मैदान नउत्रिएको थियो। त्यसबेला राप्ती रोडमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो। सर्वोच्च अदालतमा दायर मुद्दाका कारण दुई वर्षअघि रोकिएको सडक विस्तार कार्य अहिले फेरि तीव्र गतिमा अघि बढ्न थालेको हो।