रसुवागढी भन्सार अंग्रेजी नयाँ वर्षदेखि सुचारु हुने
काठमाडौं । चीन सिमानामा पर्ने रसुवागढी भन्सार चीनतर्फको प्रमुख मानिने यो नाका जनवरी १ देखि सुचारु हुने भएको छ। लेहेन्दे खोलामा आएको बाढीका कारण भन्सार गत असार २४ गतेदेखि ठप्प भएको थियो।
रसुवागढी भन्सार प्रमुख तुल्सीप्रसाद भट्राईका अनुसार, चिनियाँ पक्षले बेलिब्रिज निर्माण गरेपनि प्राविधिक समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन। हाल पुल मर्मतको काम लगभग सकिएको छ र चीनले पैदल आवतजावतका लागि अनुमति दिएको छ। नेपाली चालक र व्यवसायीका प्रतिनिधिहरू पैदल पुल पार गरेर चीनतर्फ सवारी व्यवस्थापनका लागि तयारी गरिरहेका छन्।
भट्राईले बताए अनुसार, “जनवरी १ देखि सवारी आवतजावत गराउने सूचना पाएका छौं, त्यसका लागि भन्सारमा सबै तयारी पूरा छ।” रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पनि पुस १७ गतेदेखि रसुवागढी नाका खोल्न चीनले जानकारी पठाएको बताएका छन्।
भन्सार सुचारु नहुँदा असार २४ गतेयता करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भएको भट्राईले बताए।
यसअघि ल्हेन्दे खोलाको बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पुर्याएको थियो। साथै रसुवागढी–स्याफ्रुबेन्सी सडकको १६ किलोमिटर खण्डमा विभिन्न स्थानमा नदीले कटान गरेको थियो। सडक विभागले कटान भएका सडक मर्मतसम्भार गरिसकेको छ। भने बन्दरगाह पुननिर्माण गर्ने वा नगर्ने विषयमा अझै निर्णय बाकी रहेको छ।