झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु
६ पुस, विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ५ः३० बजे चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा झापा भद्रपुर नगरपालिका–९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर नगरपालिका–७ का २५ वर्षीय शीर्षक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।