आज ‘विश्व ध्यान दिवस’ मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ ।
संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेपछि नेपालमा पनि यो दिवस औपचारिक रूपमा मनाइँदै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि उपयोगी तथा पूरक उपायका रूपमा स्वीकार गरेको जनाएको छ ।
गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । त्यसै वर्ष पहिलो पटक टुँडिखेलमा सरकारकै आयोजनामा यो दिवस मनाइएको थियो ।
यस वर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा विभिन्न कार्यक्रमसहित ध्यान दिवस मनाइएको हो ।
ध्यानको अभ्यास र प्रवर्द्धनमार्फत नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा क्रियाशील व्यक्तिहरूको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि संयुक्त राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको जनाइएको छ ।
सन् २०१४ देखि अघि बढाइएको प्रस्ताव गत वर्ष डिसेम्बर ७ मा नेपालसहित १८ देशको प्रस्ताव पारित भएपछि विश्व ध्यान दिवस मनाउन थालिएको हो ।