चार वर्षपछि पुनः चुनावी मैदानमा वामदेव गौतम, बर्दियाबाट उम्मेदवार सिफारिस
काठमाडौँ । नेकपा एमाले परित्याग गरेको चार वर्षपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका वामदेव गौतमले पुनः निर्वाचन लड्ने तयारी गरेका छन्।
नेकपा बर्दियाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम्मेदवार सिफारिस गर्दा गौतमको नाम पहिलो नम्बरमा राखेको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ वामदेव गौतमसँगै नेता शक्तिबहादुर बस्नेतको नाम पनि सिफारिस गरिएको छ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट तत्कालीन एमाले नेता एवं पूर्वमन्त्री गौतमलाई नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमले ७५३ मतले पराजित गरेका थिए। उक्त निर्वाचनमा सञ्जय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका थिए।
त्यसपछि २०७९ को निर्वाचनमा वामदेव गौतम सहभागी भएका थिएनन्। यसअघि २०७७ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष रहेका गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन्।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रपतिबाट मनोनित हुने तीनमध्ये एक सिट फागुनदेखि रिक्त रहेकाले उक्त सिटमा गौतम मनोनित भएका थिए।
पार्टीको सिफारिससँगै वामदेव गौतम पुनः सक्रिय राजनीतिमा फर्किन लागेको संकेत देखिएको छ।