निर्वाचन प्रमाणपत्र पाएपछि माओवादी गतिविधि सुस्त, आन्तरिक प्रशिक्षणमै केन्द्रित
काठमाडौँ । निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र प्राप्त गरेपछि नेकपा (माओवादी)को गतिविधि उल्लेख्य रूपमा सुस्त रहेको छ। मङ्सिर २ गते महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रमाणपत्र लिएर प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका थिए।
पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढाका अनुसार, चुनावमा पार्टीको खासै ध्यान छैन। आन्तरिक प्रशिक्षण र केन्द्रीय निर्णय कार्यान्वयनमा पार्टी केन्द्रित छ। उनले भने, “चुनाव हाम्रो प्राथमिकता होइन, अहिले खेतीपातीको समय भएकाले काममै व्यस्त छौँ।”
हाल पार्टीले चुनावी तालमेल वा गठबन्धनको कुनै योजना बनाएको छैन। विप्लवले कर्णाली प्रदेश, सुर्खेत, कपिलवस्तु र दाङमा आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरी केही दिनमा काठमाडौँ फर्कने योजना रहेको सचिवालयले जनाएको छ।