किन्डरगार्टेनमा ड्रोन आक्रमणबाट ३३ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु
सुडानको दक्षिण कोर्डोफान क्षेत्रको कालोगी सहरमा भएको ड्रोन आक्रमणमा एक किन्डरगार्टेन निशाना बनेको र यसमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ।
सुडानको सेनासँग गृहयुद्ध लडिरहेको अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) माथि सेना र एक चिकित्सा संस्था सुडान डक्टर्स नेटवर्कले बिहीबारको उक्त आक्रमण गरेको आरोप लगाएका छन्। RSFले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
सेना–निकट विदेश मन्त्रालयका अनुसार किन्डरगार्टेनमा ड्रोनबाट दुई पटक मिसाइल प्रहार गरिएको थियो। आक्रमणपछि विद्यालय पुगेका सर्वसाधारण र स्वास्थ्यकर्मीहरूलाई पनि निशाना बनाइएको मन्त्रालयले जनाएको छ।
युनिसेफका प्रवक्ता शेल्डन येटले कालोगीमा भएको हमलाको तीव्र निन्दा गर्दै भने, “बालबालिकाहरूमाथि विद्यालयमै आक्रमण हुनु बालअधिकारको गम्भीर उल्लङ्घन हो। द्वन्द्वको मूल्य बालबालिकाले कहिल्यै तिर्नु हुँदैन।”
उनले सबै पक्षलाई यस्ता आक्रमणहरू तत्काल रोक्न र अत्यावश्यक मानवीय सहायता पुर्याउन सुरक्षित पहुँच उपलब्ध गराउन आग्रह गरेका छन्।
उता, RSFले पनि सेनामाथि शुक्रबार दारफुर क्षेत्रमा, चाडसँगको अद्रे सीमा नाका नजिकैको इन्धन डिपोमा ड्रोन आक्रमण गरी बजार क्षेत्रलाई निशाना बनाएको आरोप लगाएको छ। RSFका अनुसार उक्त नाका ‘सहायता र व्यापारिक आपूर्ति’का लागि प्रयोग हुन्छ।
द्वन्द्व अनुगमन गर्ने समूह सुडान वार मनिटरका अनुसार आक्रमणले सर्वसाधारणमा क्षति पुर्याएको र बजारमा ठूलो नोक्सानी भएको छ। सेनाले भने दारफुरको घटनाबारे कुनै टिप्पणी गरेको छैन। सुडानमा सेना र आरएसएफबीचको द्वन्द्व अप्रिल २०२३देखि जारी छ।