पनाह खोलामा फेला परेको बेवारिसे शवको पहिचान, मनोज पोखरेल भएको पुष्टि
गुल्मी, ४ पुस । गत मंसिर २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–४ स्थित पनाह खोलामा फेला परेको बेवारिसे शवको पहिचान भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुका अनुसार मृत फेला परेका व्यक्ति रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेल भएको पुष्टि भएको हो।
मृतकका बुबा कृष्णप्रसाद पोखरेलले शुक्रबार बिहान शवको सनाखत गरेका छन्। प्राप्त जानकारीअनुसार मनोज पोखरेल मंसिर १४ गतेदेखि घरबाट बेपत्ता भएका थिए।
प्रहरीका अनुसार उनी केही मात्रामा बौद्धिक अपाङ्गता भएका व्यक्ति थिए। शव हाल जिल्ला अस्पताल तम्घास, गुल्मीमा राखिएको छ भने पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।