न्यु जर्सीमा दुई हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु
अमेरिकाको न्यु जर्सी राज्यमा आइतबार दुईवटा हेलिकप्टर आकाशमै ठोक्किँदा एक पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट गम्भीर घाइते भएका छन् ।
संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार दक्षिणी न्यु जर्सीको ह्यामिल्टन म्युनिसिपल एयरपोर्टमाथि एन्स्ट्रोम एफ–२८ ए र एन्स्ट्रोम २८० सी मोडेलका दुई हेलिकप्टर आपसमा ठोक्किएका हुन् । दुवै हेलिकप्टरमा पाइलट मात्र सवार थिए ।
ठोक्किएपछि दुवै हेलिकप्टर नियन्त्रणबाहिर गएर घुम्दै जमिनमा खसेका थिए । दुर्घटनालगत्तै आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा दुर्घटनाका दृश्य देखिने भिडियोहरू भाइरल भइरहेका छन् ।
ह्यामिल्टन प्रहरी प्रमुख केभिन फ्रिलका अनुसार आइतबार बिहान करिब ११ः२५ बजे दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए । अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएका थिए ।
घाइते पाइलटलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) लाई घटनाबारे जानकारी गराइएको छ र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिने बताइएको छ ।