प्रहरीले मङ्सिरमा ४० करोड २५ लाख राजस्व संकलन
काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कानुन कार्यान्वयन र विभिन्न कारबाहीका क्रममा संकलित यस रकममा अवैध मालसामान बरामद, अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही लगायतका स्रोतहरू समावेश छन्।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, प्रहरीले अवैध मालसामान बरामद वापत रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीबाट सात करोड १५ लाख ९३ हजार र अवैध सुनचाँदी बरामदबाट ८९ लाख ४५ हजार ३९३ रुपैयाँ राजस्व संकलन गरेको छ।
यस्तै, हुण्डी कारोबार गर्नेहरूबाट ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकमबाट ८५ लाख ९ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरूबाट २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट दुई लाख ८७ हजार र अवैध पशुपंक्षीको कारोबारबाट सात लाख दुई हजार रुपैयाँ राजस्व संकलन भएको छ।
प्रहरीका अनुसार, यस प्रकारको नियमित कारबाही र कानून कार्यान्वयनले वैधानिक राजस्व संकलन मात्र नभई अवैध कारोबार नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।