विराटनगरका दुई क्यासिनोबाट २० जना नेपाली पक्राउ, व्यवस्थापकसमेत नियन्त्रणमा
७ पुस, विराटनगर । प्रहरीले विराटनगरका दुई क्यासिनोबाट २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। आइतबार मध्यराति छापा मार्दै प्रहरीले क्यासिनोका व्यवस्थापकसहित नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।
नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध रहे पनि विराटनगरका क्यासिनोहरूमा नेपालीको सहज आवतजावत हुँदै आएको थियो। यसकै कारण पटक–पटक झगडाका घटनासमेत सार्वजनिक हुँदै आएका थिए।
प्रहरीले विराटनगरस्थित बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटलभित्र सञ्चालित गोल्डेन क्यासिनो मा एकैसाथ छापा मारेको हो। छापाका क्रममा गोल्डेन क्यासिनोबाट १४ जना र च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपाली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख प्रहरी उपरीक्षक कबित कट्वालका अनुसार पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसमेत रहेका छन्। पक्राउ परेका सबैमाथि जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि विराटनगरका क्यासिनोहरूमा पटक–पटक विवाद र झडपका घटना भएका थिए। गत चैत ३ गते रत्ना होटलको क्यासिनो परिसरमा दुई समूहबीच कुटाकुट हुँदा किरण लामा, रोनाल कँडेल र अभिषेक गिरीसहित तीन जना घाइते भएका थिए।
त्यसैगरी २०८० पुस २८ गते बिग होटलस्थित क्यासिनोमा जुवा खेल्ने क्रममा सुरु भएको विवाद क्यासिनो बाहिर दुई समूहबीच झडपमा परिणत हुँदा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका थिए।
प्रहरीले क्यासिनोभित्र अवैध गतिविधि नियन्त्रणका लागि निगरानी कडा बनाइएको जनाएको छ।