काठमाडौंका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान
६ पुस, काठमाडौं । शहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान थालेको छ ।
समितिका अनुसार हाल गुह्वेश्वरीमा ट्रास बेरियर जडान कार्य सम्पन्न भइसकेको छ । बागमती नदीको गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल क्षेत्र, बागमती–मनोहरा दोभान, यूएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभान गरी कुल ६ स्थानमा ट्रास बेरियर जडान गरिनेछ । यसका लागि ६५ लाख रुपैयाँको ठेक्का सम्झौता भई निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको समितिले जनाएको छ ।
ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्दै एक निश्चित स्थानमा संकलन गर्ने कार्य गर्दछ ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलाजस्ता नदीहरूमा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो परिमाणमा तैरिने फोहोर बग्ने गरेको पाइएको छ । यस्ता स्थानमा ट्रास बेरियर जडान गर्दा नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र संकलन गर्न सकिने समितिको भनाइ छ, जसले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुर्याउनेछ ।
ट्रास बेरियरमार्फत संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित व्यवस्थापन गर्न सकिनेछ । यसले नदीको सौन्दर्य वृद्धि, जलजीव संरक्षण तथा सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
समितिका अनुसार ट्रास बेरियर रबरको कन्भेयर बेल्ट र तैरिने संरचनासहित जडान गरिनेछ, जसले पानीको सतह घटबढसँगै आफैं तल–माथि हुने गरी काम गर्नेछ । यसरी नदीको बहावलाई अवरुद्ध नगरी सतहमा तैरिने फोहोर रोक्ने व्यवस्था गरिएको छ ।