कान्ति राजमार्ग आजदेखि दुई महिनाका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
ललितपुर – आवश्यक मर्मत तथा सडक विस्तारका लागि कान्ति राजमार्ग आजदेखि दुई महिनासम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका काम भइरहेकोले दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ।
कान्ति राजमार्ग सडक योजनाले आगामी दुई महिनासम्म सवारी साधन चलायात पूर्णरूपमा बन्द गर्दै मर्मत तथा विस्तारको काम तीव्र गतिमा अघि बढाइने जानकारी दिएको छ।
सडक बन्दसँगै यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। अवरुद्ध अवधिभर कान्ति राजमार्ग हुँदै सवारी चलाउन नपाइने हुँदा सम्बन्धित निकाय तथा जनसाधारणलाई आवश्यक योजना बनाएर यात्रा गर्न प्रशासनले सुझाव दिएको छ।